१९ माघ, काठमाडौं । क्रिप्टोकरेन्सीको आगमनसँगै विश्वको डिजिटल दुनियाँमा एक प्रकारको क्रान्ति नै आएको छ। पछिल्लो समयमा एक नयाँ विषय पनि निकै चर्चामा छ, त्यो हो एनएफटी।विश्वमा विभिन्न एनएफटीहरु करोडौँ डलरमा बिक्री भएका समाचार पनि सुन्न पाइन्छ।
कतिपय सेलिब्रेटीहरुसमेत एनएफटीको दुनियाँमा उपस्थित भैसकेका छन्।
आखिर के हो एनएफटी ?
एनएफटी अर्थात् नन फङ्गिबल टोकन एक डिजिटल सम्पत्ति हो। यो ब्लकचेन प्रविधिमा आधारित छ । यसको मद्दतले तस्वीर, जीआईएफ, भिडियो क्लिप, पेन्टिङ तथा अन्य डिजिटल सम्पत्तिहरुको स्वामित्वको हक तय गरिन्छ। त्यसपछि उक्त सम्पत्तिलाई खरीद बिक्री गर्न सकिन्छ । एनएफटीको खरीद तथा बिक्री डिजिटल रुपमै हुन्छ ।
सरल शब्दमा भन्नुपर्दा डिजिटल सम्पत्तिलाई एनएफटी गराउनुको अर्थ त्यसको स्वामित्वको हक लिनु हो। यदि तपाईले एनएफटी खरीद गर्नुभयो भने एउटा टोकन प्राप्त गर्नुहुन्छ ।
उक्त टोकन प्राप्त गरिसकेपछि सम्बन्धित डिजिटल सम्पत्तिको वास्तविक स्वमित्व प्राप्त हुन्छ । त्यसपछि तपाईले उक्त डिजिटल सम्पत्तिलाई आफ्नो किसिमले बेच्न सक्नुहुन्छ ।
एनएफटी र अन्य सामान्य खरीद बिक्रीमा फरक फंगिबल वस्तुहरुलाई समान मूल्यका वस्तुहरुसँग साट्न सकिन्छ । उदाहरणका लागि १० डलरको एउटा नोटलाई अर्को १० डलरको नोटसँग साट्न सकिन्छ ।
क्रिप्टोकरेन्सी पनि फंगिबल हुन्छ । तर नन फङ्गिबल टोकन अर्थात् एनएफटी यस्तो हुँदैन। क्रिप्टोकरेन्सी जस्तै एनएफटीको खरीद बिक्रीका लागि विशेष प्लाटफर्म उपलब्ध हुन्छन् । ...








