प्यासन इकोनोमीको विस्तारका लागि लागि जसरी बैंकहरूको अहं भूमिका रहन्छ त्यसै गरी बैंकहरूको व्यवसाय विस्तारमा पनि यसले महत्त्वपूर्ण योगदान दिन सक्छ । यसरी बैंक तथा ‘प्यासन इकोनोमी’ बीच पारस्परिक हितमा कायम हुने अन्योन्याश्रित सम्बन्धका बारेमा थप चर्चा गर्नु सान्दर्भिक नै देखिन्छ ।
हुन त अहिले विश्वभरि नै बैंकहरू विशेष गरी साना तथा मझौला खाले व्यवसायप्रति आफ्ना लगानी तथा व्यवसाय विस्तारमा लागिपरेका पाइन्छन् र तिनको ध्यान तीव रूपमा विस्तार भइरहेको प्यासन इकोनोमीतर्फ कम मात्रामा मात्र आकर्षित भएको देखिन्छ तापनि आगामी दिनहरूमा भने बैंकिङ क्षेत्रले यो क्षेत्रलाई प्राथमिकतामा नराखी धर पाउने देखिँदैन ।
प्यासन इकोनोमीले ओगटेको विश्वबजार क्षेत्रको बारेमा अहिलेसम्म यकिन तथ्यांक उपलब्ध नभए पनि यसका लागि प्लेटफर्म स्वरूप सफ्टवेर विकास गर्ने लन्डनको एक कम्पनी ‘डिसिपल मिडिया’ ले गरेको एक अध्ययनअनुसार विश्वमा प्यासन इकोनोमीले अढाई वर्षअगाडि नै करीब ३८.६ अर्ब अमेरिकी डलर बराबरको अंश ओगटेको थियो । ‘अफ कम’, ‘डीलोइट’, ‘फोर्ब्स’जस्ता विश्व प्रसिद्ध स्रोतहरूबाट प्राप्त सूचना तथा जानकारीका आधारमा यस्तो तथ्यांक निकालिएकाले यसलाई आधिकारिक मान्न सकिन्छ । प्यासन इकोनोमीका अपरिहार्य आठ तत्त्वमध्ये ‘प्रविधि’लाई सर्वाधिक महत्त्वपूर्ण मानिन्छ र त्यसमा पनि वित्तीय प्रविधिलाई अग्र स्थानमा लिइन्छ । वित्तीय प्रविधिको केन्द्र विन्दुमा बैंकहरू रहने हुनाले प्यासन इकोनोमीको विस्तारमा तिनको अपरिहार्य भूमिका यसै स्पष्ट झल्किन्छ ।








