नेपालमा सन् २०१८ बाट इ–कमर्स व्यवसायको रूपमा ‘दराज’ नेपालमा सञ्चालनमा आएको हो। अनलाइन सपिङको मान्यतालाई स्थापित गर्दै कम्पनी चार वर्षमा अघि बढिरहेको छ। इ–कमर्स व्यवसायलाई नेपालमा स्थापित गर्ने र विस्तार गर्ने योजनाका साथ नयाँ स्वरूपमा आएको दराज नेपालमा नेतृत्व पनि परिवर्तन भएको छ। हालसम्मको यात्रा र भोलिका दिनमा कम्पनी कसरी अघि बढ्छ ? भन्ने सम्बन्धमा अन्नपूर्णकर्मी सुनिता कार्कीले दराज नेपालका निवर्तमान प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्ग र नवनियुक्त निर्देशक आँचल कुँवरसँग गरेको कुराकानी :
स्थानीयलाई रोजगारीको अवसर : लिनो अह्लेरिङ्ग(निवर्तमान प्रबन्ध निर्देशक, दराज नेपाल)
दराज नेपालमा काम गर्दाको तपार्ईंको अनुभव कस्तो रह्यो ?
जब म यहाँ आएँ, त्यो समयमा इ–कमर्स सुरुआती चरणमा थियो। क्षमता र दक्षता नभइकन इ–कमर्सको मजबुत पूर्वाधार खडा गर्न सम्भव हुँदैन। यो नै रमाइलो पक्ष थियो मेरा लागि। साँच्चै नै राम्रो टिमसँग काम गर्ने अवसर मिल्यो। टिमको मिहेनतले नै नेपालको इ–कमर्समा दराजले छुट्टै पहिचान बनाउन सफल भएको छ। दराज नेपालले सबैभन्दा
बढी ग्राहकको सन्तुष्टि र विश्वासलाई केन्द्रमा राखेर काम गर्छ। १५ हजार बढी बिक्रेता हामीसँग जोडिनु भएको छ। त्यसकारण धेरै नै उपलब्धि भएको छ र अझ धेरै गर्न बाँकी छ। नेपालको इ–कमर्स यात्रामा म पनि सहभागी हुन पाउँदा खुसी लागेको छ।








