काठमाडौं : कुनै समय हर्बो, युनिटीलगायतका नेटवर्किङ व्यवसायबाट धेरै जना ठगिए। कतिपयको त घरबास नै उठ्यो। लाखौं सर्वसाधारण ठगीमा परेपछि मात्रै सरकारले सञ्चालकलाई कारबाही गर्यो। तर, अझै पनि सर्वसाधारणको लगानी भने उठ्न सकेको छैन। अहिले त्यस्तै प्रकृतिको ‘हाइपर फन्ड’ देखा परेको छ। डिसेम्बरदेखि ‘हाइपर भर्स’को रूपमा रूपान्तरण भएको छ। कुरै नबुझी सर्वसाधारण ‘हाइपर भर्स’ मा लगानी गरिरहेका छन्। यो फन्डमा भएको अन्धाधुन्ध लगानीले पनि मुलुकमा आर्थिक संकट निम्तिएको जानकारहरू आशंका व्यक्त गर्छन्।
के हो हाइपर फन्ड ?
हाइपर भर्स अनलाइन नेटवर्किङ बिजेनस हो। यसले वस्तु तथा सेवाको बिक्री भने गर्र्दैन। तेब्बर कमाइ हुने आश्वासन देखाएर सर्वसाधारणबाट पैसा हाल्न लगाइन्छ। हाइपर फन्ड क्रिप्टो करेन्सीजस्तै अनलाइन बिजनेस हो। परिवर्तनीय (कन्भर्टिकल) बन्ड बिक्री गरेर कुनै पनि व्यक्तिलाई सदस्य बनाउने गरिन्छ। एप डाउनलोड गरेर एकाउन्ट क्रेट गर्नुपर्छ। एकाउन्ट बनाएपछि ३ सय हेजयु (३ सय अमेरिकी डलरबराबर ३९ हजार नेपाली रुपैयाँ) लगानी गर्नुपर्छ।








