सांग्रीला बैंकको नाफामा छलाङ, इपीएसमा आकर्षक बढोत्तरी


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
सांग्रीला बैंकको नाफामा छलाङ, इपीएसमा आकर्षक बढोत्तरी

काठमाण्डौ । तरलता संकट र कोरोना प्रभाव कायमै रहेको अवस्थामा समेत सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले मुनाफामा आकर्षक प्रगति गरेको छ । बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ५९ प्रतिशतले नाफा बढाएको हो । 
चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म बैंकले २६ करोड १८ लाख बढी नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकले १६ करोड ४८ लाख मात्र नाफा आर्जन गरेको थियो । 
यो अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा १८ करोड ४ लाख बढी रहेको छ । 
समीक्षा अवधिमा बैंकको संचालन मुनाफा पनि ह्वात्तै बढेको छ। अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म २२ करोड २४ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष ३७ करोड ४१ लाखको उचाई चुमेको हो । यसरी अघिल्लो वर्षको तुलनामा बैंकले संचालन मुनाफामा समेत ६८.१६ प्रतिशतको छलाङ हानेको छ।

व्यवसाय वृद्धिमा बैंक व्यवस्थापनले ध्यान दिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि आकर्षक प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५४ करोड २१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ७९ करोड ५८ लाख माथि पुगेको छ । 

यस्तै, अघिल्लो वर्ष ६५ करोड ९५ लाखमा सीमित रिजर्बको आकार बढेर समीक्षा अवधिसम्म ७२ करोड ४२ लाख पुगेको छ भने चुक्तापुँजी पनि २ अर्ब ७३ करोडबाट बढेर ३ अर्ब १ करोड माथि पुगेको छ । 

समीक्षा अवधिमा सांग्रीला बैंकले ४५ अर्ब ९२ करोड बढी निक्षेप संकलन गरी ४० अर्ब ४६ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ४१ अर्ब ७९ करोड बढी निक्षेप संकलन गरी ३३ अर्ब ४ करोड बढी कर्जा परिचालन गरेको थियो । 

नाफामा भएको राम्रो बढोत्तरीसँगै सांग्रीला बैंकको दोश्रो त्रैमाससम्मको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा पनि वृद्धि भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म इपीएस १२ रुपैयाँ ६५ पैसा रहेकोमा बढेर समीक्षा अवधिसम्म १७.३९ रुपैयाँ पुगेको हो । 

बैंकले यो अवधिमा खराब कर्जाको अनुपात सुधारमा निकै कसरत गरेको देखिन्छ । परिणामस्वरुप अघिल्लो वर्षको यही अवधिसम्म २.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर यो वर्ष १.१५ प्रतिशतमा सीमित बन्न पुगेको हो । 

Read More