काठमाडौं । मङ्सिरपछि विद्युतीय (डिजिटल) भुक्तानी पुनः बढ्दै गएको देखिएको छ । मासिक तथ्यांकका आधारमा कात्तिकमा डिजिटल भुक्तानी कारोबार घटेको थियो, तर मङ्सिरमा भने त्यस्तो कारोबार पुनः बढेको हो ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त मङ्सिरसम्मको तथ्यांकअनुसार मङ्सिरमा वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानीका माध्यमबाट हुने कारोबार रकम बढेको छ । कात्तिकमा यी माध्यमबाट हुने कारोबार रकम घटेको थियो । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । कोरोना महामारी सुरु भएपछि नै नेपालमा डिजिटल भुक्तानी बढ्दै गएको थियो । तर, कात्तिकमा एकाएक डिजिटल भुक्तानीको बढ्दो ग्राफ रोकिएपछि विभिन्न आशंका उब्जिएको थियो । तर, मङ्सिरमा आउँदा भने डिजिटल कारोबारमा पुरानै लयमा फर्किन लागेको देखिएको छ ।








