काठमाडौँ — नबिलमा विलय हुनका लागि बंगलादेश बैंकसँग दुई साता अघि भएको आपसी समझदारी फेरि विवादित बनेको छ । नबिल र बंगलादेश बैंकबीच 'एक्वीजिसन'को औपचारिक प्रक्रिया सुरु नहुँदै विवाद भएको छ । बंगलादेश बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आईएफआईसी बैंकको सेयर खरिद सम्बन्धमा चौधरी र दुगड समूहबीच विवाद बढेपछि एक्वीजिसन प्रक्रिया नै अन्योलमा परेको हो ।
करिब दुई साताअघि चौधरी समूहले आईएफआईसी बैंकको सेयर किन्ने आपसी सहमतिपछि नबिल र बंगलादेश बैंकबीच एक्वीजिसन प्रक्रिया अघि बढाउने अनौपचारिक रुपमा सहमति भएको थियो । सोही अनुरुप दुबै बैंकले मर्जर समिति बनाइसकेका थिए । नबिल बैंकले पुरानै मर्जर समितिलाई सक्रिय बनाएको थियो भने बंगलादेश बैंकले नयाँ मर्जर समिति बनाएको थियो । तर, ती दुबै बैंकले औपचारिक रुपमा प्रक्रिया अघि बढाउनुअघि नै बंगलादेश बैंकमा रहेको विदेशी लगानीकर्ताको सेयर खरिद सम्बन्धमा विवाद सुरु भएको हो ।
आईएफआईसी बैंकले यसअघि आफ्नो समूहलाई सेयर बिक्री गर्ने भनेकोमा अहिले अर्को समूहलाई सेयर बिक्री गर्न थालेको भन्दै सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले गत साता उच्च अदालत पाटनमा मुद्दा हालेका छन् । यो समूहले राष्ट्र बैंकमा पनि यस सम्बन्धमा उजुरी दिएको छ । यही कारण सेयर खरिदमा विवाद सुरु भएको हो । सेयर खरिद विवादले एक्वीजिसन प्रक्रिया कतिसम्म प्रभावित होला भन्ने जिज्ञाशामा स्रोतले भन्यो, ‘धेरै विषय मिल्न बाँकी छ । एक्वीजिसन हुने नहुनेमा अहिलेसम्मको अवस्था ५०/५० प्रतिशत मात्र हो ।’



