इतिहासले बताए अनुसार नेपालमा सर्वप्रथम मुद्राको प्रचलन लिच्छवीकालिन राजा मानदेवबाट भएको थियो । उनले प्रचलनमा ल्याएको मुद्रालाई मानांक भनिन्थ्यो । उनीपछिका अन्य राजा अंशुवर्मा, नरेन्द्रदेव लगायतले पनि यसलाई निरन्तरता दिए । जसले वस्तु विनिमयलाई सहज बनायो।
त्यतिबेला माटोका तथा छालाबाट पनि मुद्रा बनाइन्थ्यो। तर पछि यसमा सुधार आउन थालेको इतिहास छ। मल्लकालिन राजा महिन्द्र मल्लले सर्वप्रथम चाँदीको मुद्रा प्रचलनमा ल्याए। जसलाई महिन्द्र मल्ली भनिन्थ्यो। नेपालमा कागजी नोटको शुरु भने निकैपछि मात्र भएको थियो । वि.सं. २००२ मा यसको शुरुवात भयो।
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर जबरा हुन् तर नेपालको पहिलो कागजी नोटमा उनको हस्ताक्षर छैन। पहिलो कागजीनोटमा हस्ताक्षर गर्ने जनकराज पण्डित हुन्। उनी नेपाल सरकार सदर मुलुकी खानाका खजाञ्ची थिए। उनको पालामा ५, १० र १ सय मोरु निष्कासन भएको पाइन्छ।








