नबिल बैंक लिमिटेड र नेपाल बंगलादेश बैंकबीच मर्जरको तयारी भएको छ । नेपाल बंगलादेश बैंक मर्जरमा जान तयार रहेको भन्दै आवश्यक तयारीका लागि नबिल बैंक सञ्चालक समितिमा छलफल भएको छ ।
नेपाल बंगलादेश बैंकमा अहिले बंगलादेशको आईसीएफसी बैंकको लगानी रहेको छ । आईसीएफसी बैंककै प्रतिनिधिको रुपमा एआरएम नाजमुस साकिद सञ्चालक समिति अध्यक्ष रहेका छन् । अन्य २ सञ्चालकहरु पनि आईसीएफसीका प्रतिनिधि नै रहेका हुन् ।
नबिल बैंकका अनुसार आईसीएफसीको शेयर चौधरी समूहले खरिद गर्नेछ । त्यसपछि मर्जरको प्रक्रिया अघि बढाइनेछ । शेयर खरिदका विषयमा समेत दुई बैंकबीच सहमति भइसकेको जनाइएको छ ।
यसैबीच मर्जर प्रक्रिया अगाडि बढाउन नबिल बैंकका सञ्चालक उदयकृष्ण उपाध्यायको नेतृत्वमा संयुक्त मर्जर समिति गठन गरिएको छ।
उक्त समितिले नबिल बैंकसँग नेपाल बंगलादेश बैंकलाई प्राप्ति तथा एक्विजिसनका लागि सहमतिको प्रयास गर्नेछ। एक साताभित्र मर्जसम्बन्धी सबै काम सकेर सहमति पत्रमा हस्ताक्षर (एमओयू) गर्ने तयारी भएको बताइएको छ।




