काठमाडौँ — एनएमबी बैंकले स्विट्जरल्यान्डस्थित स्वीस इन्भेष्टमेन्ट फण्ड इमर्जिङ मार्केट्स (सिफेम)सँग १ करोड २० लाख अमेरिकी डलर ऋण प्राप्त गर्नेगरी सम्झौता गरेको छ । सिफेमबाट पहिलो पटक नेपालमा लगानी भित्र्याउनेगरी यो सम्झौता भएको हो । स्वीस सरकार विकास सहयोग, एसडीसीले ऋण प्रदानका लागि महत्वपूर्ण सहयोग पुऱ्याएको बैंकले जनाएको छ । यो कर्जाको लागि एसडीसीले सिफेमलाई जोखिम बाँडफाँडको आधारमा सुविधा प्रदान गरेको छ ।
सिफेमबाट बैंकले प्राप्त गरेको कर्जा रकम बैंकले मुख्यत: लघु, साना तथा मझौला उद्यमहरुलाई कर्जा प्रदान गर्न र वित्तीय पहँच अभिवद्धि गर्न, वित्तीय क्षेत्रको विकासमा योगदान पुग्ने, रोजगारी वृद्धिमा सहयोग र स्थानीय अर्थव्यवस्थामा सहजता बढाउन सहयोग पुग्ने क्षेत्रहरूमा लगानी गर्नेछ । नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले यो ऋण लगानीबाट नेपाल–स्वीस सहकार्यमा नयाँ अध्यायको सुरुवात भएको दावी गरिन् । ‘यो लगानीले नेपाली लघु, साना तथा मझौला उद्यमहरुमा वित्तीय पहुँच बढाउन सहयोग गर्नेछ’ उनले भनिन् ।







