काठमाडौँ — विदेशी विनिमय सञ्चिति, शोधनान्तर स्थिति, रेमिट्यान्स, चालु खाता, मूल्यवृद्धिलगायत अर्थतन्त्रका महत्वपूर्ण सूचक ऋणात्मक रहे पनि अवस्था बिग्रिनसकेको भन्दै राष्ट्र बैंकले बचाउ गरेको छ ।
कोरोना महामारी सुरु हुनुअघि (आर्थिक वर्ष ०७५/७६) का तथ्यांकसँग तुलना गर्दै अहिले होसियार हुनुपर्ने बेला आए पनि आत्तिहाल्नुपर्ने अवस्था नरहेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दाबी गरे । समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बुधबार गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
‘कोरोना महामारी सुरु भएपछि तिब्र गतिमा भएको आर्थिक सुधारले वस्तुको मागसँगै आयात धेरैले बढ्यो र आयातका लागि बैंकले ठूलो परिमाणमा फाइनान्सिङ गर्नुपर्यो,’ उनले भने, ‘त्यही मात्रामा निक्षेप जुटेन । अनि समस्या देखियो ।’ आर्थिक गतिविधि बढ्ने समयमा विगतमा पनि यस्तो अवस्था आउने गरेको र तिनलाई विभिन्न वित्तीय तथा मौद्रिक उपकरणमार्फत सही दिशामा ल्याउने गरिएको उनको भनाइ थियो ।
गत साउनदेखि हालसम्म बैंक तथा वित्तीय संस्थाले कुल ४ खर्ब ३८ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गर्दा १ खर्ब १६ अर्ब रुपैयाँ मात्र निक्षेप संकलन गरेका छन् । यसरी कर्जा र निक्षेपबीच अन्तर धेरै भएकाले वित्तीय प्रणालीमा तरलता अभाव देखिएको उनले बताए ।




