नेपालकै एक मात्र वीरगञ्जस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको परीक्षण थालिएको छ ।
भन्सारमा दाखिला गर्नुपर्ने सबै प्रकारका महसुलको विद्युतीय भुक्तानी गर्नका लागि तयार गरिएको प्रणालीको परीक्षण थालिएको हो । पुस मसान्तसम्म उक्त विद्युतीय भुक्तानी प्रणालीको परीक्षण गरिनेछ ।
त्यसपछि अब सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पहिलो पटक विद्युतीय भुक्तानी प्रणालीको सुरुवात गरिने कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
यस प्रणाली प्रयोग गरी प्रयोगकर्ताले आफूलाई उपयुक्त कुनै भुक्तानीका उपकरणमा आबद्ध भई आफ्नो बैंक खाताबाट सिधैं विद्युतीय रुपमा भन्सार कार्यालयमा रहेको बैंकस्थित भन्सार कोष खातामा भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ ।
भन्सार विभागले नेपाल राष्ट्र बैंकको राष्ट्रिय भुक्तानी स्वीचको सञ्चालककर्ता नेपाल क्लियरिङ हाउस लिमिटेडसँग समन्वय गरी सो प्रणालीको विकास गरिएको हो ।








