काठमाडौँ — संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले कात्तिक दोस्रो साता बैठक बोलायो । वाणिज्य तथा आपूर्ति सचिव र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकको अनुपस्थिति रहेको उक्त बैठकको एजेन्डा वस्तुको प्रत्यक्ष बिक्री गर्ने कम्पनीलाई इजाजत दिनु थियो ।
स्मार्ट मल्टिपर्पोज प्रालि, ग्रेट बिजनेस ग्लोबल मार्ट, गोल्डेन नेपाल मार्केटिङ प्रालि र के लिंक हेल्थ केयर नेपाल प्रालिलाई समितिले कारोबारको इजाजत दिन दबाब दियो । तर सचिव र महानिर्देशक उपस्थित नभएपछि टुंगो नलागेको बैठकमा सहभागी एक अधिकारी बताउँछन् ।
यसअघि पनि समितिले २०७७ असोज ९ मा प्रक्रिया पुगेका कम्पनीलाई इजाजत दिन निर्देशन दिएको थियो । २०७७ चैत ५ मा पुनः संस्थागत संरचना बनाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेकालाई इजाजत दिन भन्दै पत्र पठाएको थियो ।







