एकर्ड फर्मास्युटिकल्स लि. ले सर्वसाधारणमा प्रति कित्ता अंकित मुल्य रु. १००।– दरको ४ लाख ८० हजार कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लि. लाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मिति २०७८ मंसीर २१ गतेका दिन ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक कार्यक्रममा एकर्ड फर्मास्युटिकल्स लि.को को तर्फबाट अध्यक्ष श्री विशाल पण्डित र ग्लोबल आइएमई क्यापिटल लि.को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
अधिकृत पुँजी रु. ६५ करोड र जारी पुँजी रु. ४८ करोड रहेको यस फर्मास्युटिकल्सको केन्द्रीय कार्यालय काठमाण्डौं जिल्लाको तीनकुने सुविधानगरमा रहेको छ भने ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिकास्थित लुभूमा ओषधी उत्पादन गर्ने कारखाना रहेको छ । नेपालका औषधी तथा औषधीजन्य सामाग््रीहरुको कारोबारमा लामो समय संलग्न रहेका व्यक्तिहरु तथा अन्य बिभिन्न क्षेत्रका बिज्ञहरुद्वारा प्रवद्र्धित यो फर्मास्युटिकल्स कम्पनी विधिवत रुपमा शुरुमा वि.सं.२०७० सालमा प्रा.लि.का रुपमा स्थापना भई पछि पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो ।
WHO – cGMP को मापदण्ड तथा गाइडलाइन अनुरुप औषधी उत्पादन भवनको निर्माण गरिनुका साथै यन्त्र तथा उपकरणको व्यवस्थापन, जडान एबम् उत्पादन प्रक्रिया समेत सोही अनुरुप सुनिश्चित् गरिएको छ । कूल बिल्ट अप एरिया ६०,००० वर्गफिट रहेको उद्योगको भवनबाट बिशिष्ट र बिभिन्न प्रकारका गुणस्तरीय औषधीहरु बजारमा ल्याइसकेको यस उद्योगले स्वदेश मात्र नभई विदेशमा समेत निर्यात गर्ने लक्ष्य सहित उत्पादन तथा बिक्री वितरणको आवश्यक व्यवस्था मिलाएको छ । हाल मुलुकमा औषधि उत्पादन गरिरहेका थुप्रै कम्पनीहरुमध्ये यो फर्मास्युटिकल्स कम्पनी सर्वसाधारणमा शेयर जारी गर्ने नेपालकै पहिलो औषधि उत्पादक कम्पनीको रुपमा रहने निश्चितप्राय छ ।







