काठमाडौँ — नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल)ले नेसनल पेमेन्ट स्वीचको थालनी गरेको छ । पहिलो चरणमा २९ बैंक तथा वित्तीय संस्थाहरु नेसनल पेमेन्ट स्वीचमा जोडिएका छन् । १८ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी यसमा आवद्ध भएका छन् । बिहीबार राजधानीमा एक औपचारिक कार्यक्रममा ती संस्था र एनसिएचएलबीच सम्झौता भएको हो ।
नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत उल्लेख भएबमोजिम नेसनल पेमेन्ट स्वीचको स्थापनाका लागि नेपाल क्लियरिङ्ग हाउसलाई स्वीकृति प्रदान गरिएको थियो । अन्य बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली संचालक र भुक्तानी सेवा प्रदायकहरुलाई समेत नेसनल पेमेन्ट स्वीचमा आबद्ध गराइने एनसिएचएलले जनाएको छ । कम्पनीका अनुसार कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तर आबद्धता कायम गर्ने, डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गर्नका लागि हाल सम्पूर्ण तयारी भइसकेको छ । अब यसलाई कार्यान्वयनमा लगिनेछ ।




