भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताएका छन्। साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको बताए।
भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ। भारतका राज्यहरु एवं केन्द्रीय बैंकको रेखदेख र नियन्त्रणभन्दा बाहिर गएर बिट्क्वाइनको कारोबार भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने खाँचो देखिएको मोदीको भनाइ छ।
अस्ट्रेलियाली रणनीतिक नीति इन्स्टिच्यूटले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै सबै लोकतान्त्रिक मुलुकहरुले सहकार्य गरी क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्नुपर्ने बताए। उनले खराब व्यक्तिको हातमा क्रिप्टोकरेन्सी पर्न नदिन र युवाको जीवन बर्बाद बनाउनबाट रोक्न पनि सरकारहरुले तत्कालै काम गर्नुपर्ने बताए।
लागूपदार्थको तस्करी, मानव तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको यस क्षेत्रका विज्ञहरुको भनाइ छ।





