सरकारले तीन वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ सार्वजनिक गर्यो । प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउने उदेश्य अनुसार डिजिटल नेपाल फ्रेमवर्क अगाडी ल्याएको हो । सोही अनुसार सरकारले अहिले डिजिटल नेपाल बनाउने उदेश्य अनुरुप आफ्ना योजनाहरु अगाडी बढाएको छ ।
वि.स २०२८ को राष्ट्रिय जनगणनामा कम्प्युटरको प्रयोगबाट डिजिटल यात्राको थालनी गरेको नेपालले वि.स २०७६ मा मोबाइलको पहुँच १०० प्रतिशत र इन्टरनेटको पहुँच ६० प्रतिशत पुर्याएर डिजिटल माध्यम प्रयोग सम्बन्धमा उल्लेख्य सफलता हासिल गरेको थियो । हालसम्म आइपुग्दा यसमा उल्लेख्य रुपमा पहुँच वृद्धि भएको छ ।
पछिल्लो समय डिजिटल कारोबार अत्याधिक बढेको छ । मोवाइल एपबाटै बैंकिङ कारोबार गर्नेहरु बढेका छन् । एनसीएचएलले सञ्चालन गर्दै आएका विभिन्न भुक्तानी प्रणालीहरु मार्फत आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा ने.रु. ४१.२ खर्ब बराबरको १ करोड ७१ लाख भन्दा बढि कारोबारहरु प्रोसेस र फर्छ्यौट गरेको छ । पछिल्लो आ. व.को तुलनामा उक्त कारोबार संख्याको आधारमा १०७% ले बृद्धि भएको हो । पहिलो त्रैमासमा इसीसीमा जम्मा ने.रु.२८.९ खर्ब बराबरको ४१ लाख ५३ हजार भन्दा बढि चेक कारोबार भएको छ ।





