कुनै पनि देशमा नोट छपाई तथा निष्काशनको कानुनी अधिकार त्यस देशको सरकार वा केन्द्रिय बैंकलाई मात्र हुन्छ । कानुनी अधिकार प्राप्त नगरी कुनै व्यक्ति, संस्था वा निकायले कुनै पनि प्रकारले गैरकानुनी तवरबाट ठगी गर्ने मनसायले बनाएको नोटको प्रतिलिपीलाई जाली नोट भनिन्छ । मुलुकी ऐनको खोटा चलनको महल (१) ले जाली नोटको सम्बन्धमा “सरकारी टक लागेको सिक्का, नोट इत्यादी स्थिति चलनका कुरा कसैले बाहिर टकमारी छाप नम्बर, निशाना इत्यादी बनाउन लगाएमा बनाउन उद्योग गर्न र त्यस्ता माल कसैले जानी जानी खरीद गरेमा खोटा चलन गरेको ठहर्छ “ भनि ब्याख्या गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को परिच्छेद ६ को दफा ५२ ले नोट तथा सिक्काको छपाई गरि निसष्काशन गर्ने एकाधिकार नेपाल राष्ट्र बैंकलाई प्रदान गरेको छ । यस बाहेक अरु कसैले जालसाँजी वा किर्ते गरी वा रुप फेरी वा अन्य कुनै प्रकारले नोट बनाएमा त्यस्ता नोटहरु जाली अथवा नक्कली हुन् ।
हाम्रो देशमा कहिलेदेखि जाली नोट देखापर्यो भन्ने कुराको कुनै प्रमाण नभए पनि वि.सं. २०२५/२६ तिर गभर्नर डा. यादवप्रसाद पन्तको हस्ताक्षर भएको रु. ५ दरको नोटसँग मेल खाने नोट बजारमा ल्याइएको थियो भन्ने कुरा पुराना मुद्रा संग्रहकर्ताको भनाइ छ । ...








