काठमाडौं । नेपालका बैंकहरूको मोबाइल एप हेर्ने हाे भने प्राय: सबै उस्तै छन् । एउटै डिजाइन, एउटै सिस्टम, एउटै फ्रन्ट-ईन्ड ।
त्यतिमात्रै नभएर कुनै सर्भिसलाई जनाउने सिग्नल पनि उस्तै । फरक छ त कलर । बैंकको ब्राण्ड कलर अनुसार एप बन्नुभन्दा अन्य सर्भिस तथा सिस्टममा फरक नहुँदा नेपालको मोबाइल बैंकिङले प्रयोगकर्तालाई नयाँपन दिन सकिरहेको छैन ।
बैंकहरू सबै एउटै कम्पनीको सिस्टममा भर पर्दाको असर हो यो । नेपालका ९८ प्रतिशत बैंकको मोबाइल एप एफवान सफ्टको सिस्टममा आधारित छन् । त्यो हुँदा कम्पनीले सबै बैंकले एउटै सिस्टममा आधारित भएर सर्भिस उपलब्ध गराउँदै आएका छन् ।
यसरी सबै बैंकले एउटै सिस्टममा आधारित भएर सर्भिस दिँदा ग्राहकले नयाँपन नपाएकाे भन्दै एनएमबी बैंक भने एफवान सफ्टबाट बाहिरिएको छ ।
‘मोबाइल बैंकिङको फ्रन्टइनमा परिमार्जन गरेर प्रयोगकर्तालाई नयाँपन दिने उद्देश्यका साथ हामीले एपमा एफवान सफ्टसँगको सहकार्यलाई तोडेका हौं,’ एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मीले भने, ‘एफवान सफ्टसँग सहकार्य गर्दा सबै बैंकको एप एउटै हुने हुँदा फरक खोज्ने ग्राहकलाई असहज भएको महसुस बैंकलाई भएको छ ।’
नयाँ एपको डिजाइनमा बैंक आफैंले काम गरेको छ । उनले भने, ‘नयाँ सिस्टम नेपाली लोकल पार्टनर सेलकमसँग मिलेर भारतीय कम्पनी पे-नेटले बनाएको छ । योसँगै बैंकको आवश्यकता अनुसार सर्भिसलाई परिमार्जन गर्न सहज हुनेछ ।’ ...








