बोस्टन (अमेरिका) । केही महिनाअघि जसरी अमेरिकाका नेपालीहरू डोजक्वाइन नामको क्रिप्टोकरेन्सीको लहडमा थिए, अहिले त्यसैगरी विभिन्न यापमार्फत ट्रेडिङ गर्नेहरू शिब इनुको पछि लागेका छन् ।
डिस्कोर्ड र फेसबुकमा नेपाली रविनहुड नामक समूह सञ्चालन गर्ने आशिष संग्रौलाका अनुसार शिब इनु किनेका कारण धेरै नेपालीहरू ‘मिलिनियर’ बनिरहेका छन् वा बन्ने तयारीमा छन् । यो वर्षको जनवरीमा कसैले एक हजार डलर बराबरको शिब इनु नामको क्रिप्टोकरेन्सी किनेर नबेची होल्ड गरेको भए आजसम्म ४० देखि ४५ मिलियन डलरको धनी बन्ने देखिन्छ । संग्रौलाले भने, “नेपाली रविनहुड समूहमा आबद्ध रहेका मध्ये करिब १० जना नेपालीहरू शिब इनुबाट केही हजार लगानी गरेकै भरमा मिलिनियर बनेका छन् ।”





