३ कात्तिक, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) को क्यूआर पेमेन्ट शुरु भएको छ । डिजिटल बैंकिङका लागि ज्युँदो इतिहासको रुपमा रहेको एससीटीले ग्राहकहरुलाई भरपुर सुविधा दिने गरी क्यूआर पेमेन्टको शुरुवात गरेको हो ।
विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।
स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई-पे, प्रभु-पे, क्यू-पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन-पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी छ ।
राष्ट्र बैंकले नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यो नीतिलाई स्मार्ट क्यूआरले सहयोग पुग्ने कम्पनीको विस्वास छ । स्मार्ट क्यूआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाको उपयोग गर्न सजिलो हुने विश्वास छ ।
विशेषतः यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरूले ईएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्यूआरसी पेमेन्ट सर्भिसहरूको बीचमा पनि सहजै एकीकृत कारोबार गराउन सकिने व्यवस्था गरिएको छ ।





