भूपरिवेष्टित मुलुकहरूका लागि सबैभन्दा उत्तम निर्यात विकल्पमा ज्ञानमा आधारित निर्यात व्यापार नै हो । यी व्यापारमध्ये सफ्टवेयरको निर्यात सबैभन्दा उत्तम निर्यात मान्न सकिन्छ । भूपरिवेष्टित मुलुकका पारवहनजन्य बोझका कारण नेपाल यस्ता विकल्पमा जानुपर्छ भन्ने सोच लामो समयदेखि आए तापनि यस क्षेत्रमा अपेक्षित प्रगति प्राप्त हुन सकेको छैन । विगत ४ वर्षयताको तथ्यांक हेर्दा सफ्टवेयरको निर्यात करोडभन्दा माथि उक्लिन सकेको छैन । देशगत रूपमा हेर्दा गत आर्थिक वर्षमा जापानमा मात्र नेपाली सफ्टवेयर निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख भएको छ ।
तर, भारी मात्रामा सफ्टवेयर आयात भएको पाइन्छ । गत आर्थिक वर्षमा महामारीका कारण यस वस्तुको निर्यातमा ह्रास आयो भने आायत ठूलो मात्रामा भएको पाइन्छ । यसरी आयात हुने सफ्टवेयरमा करीब ९४ प्रतिशत अंश चीनबाट भएको देखिन्छ । दक्षिण कोरिया र भारतबाट पनि केही मात्रामा सफ्टवेयर आयात भएको पाइन्छ । समग्रमा हेर्दा नेपालबाट निर्यात हुने सफ्टवेयरको मात्रा नगण्य रहे तापनि विदेशबाट ठूलो परिमाणमा सफ्टवेयर आयात हुने गरेको छ ।





