काठमाडौं : दसैं, तिहार तथा छठ पर्वका अवसरमा किनमेल बजारमा उपहार नै उपहारको बहार छाएको छ । चाडवाड विशेष व्यवसायीहरुले मौका छोपेर ग्राहक तान्ने गरी आकर्षक छुट योजनासहित बम्पर उपहार दिने योजना अघि सारेका छन् । विभिन्न सपिङ महलहरुले आकर्षक योजना सार्वजनिक गर्दै नयाँ नयाँ स्कीमहरु ल्याएका छन् । गजेटदेखि अटोमोबाइले आकर्षक योजना र उपहार सार्वजनिक गरेका छन् । यसरी व्यापारिक क्षेत्रमा नयाँ नयाँ स्कीम र उपहारहरु सार्वजनिक भइरहँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि आकर्षक योजनाहरु सार्वजनिक गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाले चाडपर्व लक्षित योजनाहरु सार्वजनिक गर्न थालेपछि केन्द्रीय बैंकले भने यसमा रोक लगाएको छ । सोमबार मात्रै एकीकृत निर्देशन, २०७७ मा संशोधन गरी केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप तान्ने उद्देश्यले कुनै पनि किसिमका उपहार तथा पुरस्कारका कार्यक्रम सञ्चालन गर्न नपाउने व्यवस्था गरेको छ ।
निर्देशनमा भनिएको छ, ‘निक्षेप संकलन तथा व्यवसाय विस्तार गर्ने उद्देश्यले वित्तीय ग्राहकलाई कुनै पनि किसिमको उपहार, चिठ्ठा, प्रतियोगिता, पुरस्कार लगायतका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।’ केन्द्रीय बैंकको यो भन्दा अघिल्लो निर्देशनमा नै बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन गर्दा सुनचाँदीका सिक्कालगायतका कुनै पनि किसिमका उपहार प्रदान गर्न नपाउने व्यवस्था रहेको थियो ।
यस्तो व्यवस्था भए पनि बैंकहरुले भने विभिन्न योजना सार्वजनिक गर्न छाडेका छैनन् । तथापि, यसैबीच धेरै बैंक तथा वित्तीय संस्थाले भने दशैं योजना भन्दै निक्षेपका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । केही बैंकले भने नयाँ योजनाहरु समेत ल्याएका छन् । हेरौं, कुन–कुन बैंकले चाडपर्व लक्षित योजना के–के ल्याए :
नबिल बैंकको मुद्दति खातामा ९.२६% ब्याजदर
नबिल बैंकले दशैंको अवसर पारेर नयाँ ब्याजदर योजना सञ्चालनमा ल्याएको छ । बैंकले दसैंको अवसर पारेर सुनौलो उपहारको रुपमा मुद्दति खातामा उत्कृष्ट ब्याजदरको बहार योजना ल्याएको हो । बैंकले असोज १ गतेदेखि नै लागू हुनेगरी व्यक्तिगत मुद्दति खातामा ९.२६% ब्याजदर दिने जनाएको छ ।
एनआइसी एसिया बैंकको दसैं योजना : डिजिटल कारोबार गर्नेलाई आकर्षक उपहारदेखि २५% सम्म क्यास ब्याक ...





