झन्डै ७ महिना अघि काँडाघारी बस्दै आएका सुबिन्द्र कार्कीले वर्ल्ड लिंक कम्युनिकेशनको २५ मेगाबिट्स पर सेकेन्ड(एमबीपीएस) गतिको इन्टरनेट जोडे । कोरोनाका कारण घरमै बस्नुपरेको र अफिसको काम पनि ‘वर्कफ्रम होम’ भएपछि इन्टरनेट जोड्न उनी बाध्य भए ।
सुरुमा उनले २० एमबीपीएस इन्टरनेट लिन खोजे पनि प्याकेज नभएको कम्पनीले जनाए पछि २५ एमबीपीएसको प्याकेज लिएका थिए ।
अहिले वर्ल्ड लिंकले एउटा म्यासेज पठाएको भरमा २५ एमबीपीएसको इन्टरनेटलाई ४५ एमबीपीएस पुर्याएको बताए । ‘मलाई २५ एमबीपीएसले नै पुगिरहेको थियो,अफिसको काम समेत चलिरहेको थियो’ उनले भने ‘अहिले मेरो डिमान्ड बिना नै एमबीपीएस सहित शुल्कपनि बढेर बिल आएको छ’ ।
स्वीकृति बिना ब्यान्डवीथ र शुल्क किन बढाएको भन्ने प्रश्न गर्दा उनले गतिलो जवाफ पाएनन् । कार्कीले ४५ एमबीपीएसकै इन्टरनेटले काम चलिरहेको र शुल्क पनि बढी भएकाले २५ एमबीपीएस गतिकै इन्टरनेट दिन आग्रह गरेपनि २५ एमबीपिएस इन्टरनेट नपाइने वर्ल्ड लिंकले बतायो । यद्दपि नयाँ जोडिने ग्राहकलाई भने २५ एमबिपिएस गतिकै इन्टरनेट उपलब्ध गराइरहेको छ ।
मागेको प्याकेज दिन नमानेपछि इन्टरनेट सेवाप्रदायक नै परिवर्तन गर्ने मोडमा उनी छन । त्यस्तै डिल्लीबजार बस्दै आएका निरोज खत्री भायानेटको इन्टरनेट चलाउँछन् । उनले पनि अनुमति बिना भायानेटले व्यान्डवीथ बढाएको आरोप लगाएका छन् । उनले पनि इन्टरनेट व्यान्डवीथ बढाएर २५ एमबीपीएसबाटै ४५ एमबिपिएस पुर्याएको गुनासो गरेका छन् ।
‘हामी तीन जनाले इन्टरनेट चलाउछौं,त्यही पनि शुरुमा जोडेकै नेटले राम्रो पर्फमेन्स दिइरहेको थियो’ निरोजले भने ‘तर,भायानेटले शुल्कमा थप भार पर्नेगरी हाम्रो अनुमति नलिई व्यान्डवीथ बढायो तर,रेस्पोन्स गरेन’ ।
इन्टरनेट सेवाप्रदायकले ग्राहकको स्वीकृति नलिई शुल्क र व्यान्डवीथ बढाएको बिषयमा सुबिन्द्र र निरोज गुनासो गर्ने प्रतिनिधि पात्र मात्रै हुन् । अहिले हरेक इन्टरनेट सेवाप्रदायकले यस्तै फण्डा मच्याइरहेका छन् ।





