काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेको छ । जीबीओ अवार्ड अन्तर्तग एनसेलले ‘सामाजिक उत्तरदायित्वको क्षेत्रमा उत्कृष्ट टेलिकम कम्पनी’ र नेतृत्व विधामा एनसेलका कार्यकारी प्रमुख एन्डी चोङले ‘टेलिकम सीईओ अफ दि इयर’ अवार्ड जितेका हुन् ।
लन्डनस्थित प्रकाशन गृह जीबीओले हरेक वर्ष विश्वभरका कम्पनीलाई उत्कृष्टताका आधारमा पुरस्कृत गर्दै आएको छ । यो अवार्ड बैंकिङ, वित्तीय, घरजग्गा, दूरसञ्चार, उड्डयन तथा अन्य विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने कम्पनी र नेतृत्वकर्तालाई दिने गरिन्छ ।
कम्पनीहरूको रचनात्मकता, नवीनता र उनीहरूले स्थानीय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको योगदानको कदर गर्दै यो अवार्ड दिइन्छ । साथै एनसेल ‘वर्ल्ड कम्युनिकेसन्स् अवार्ड २०२१’ का दुई छुट्टाछुट्टै विधा ‘सामाजिक योगदान अवार्ड’ र ‘आपतकालीन सक्रियता अवार्ड’का लागि पनि सूचीकृत भएको छ ।
यो पुरस्कार घोषणा आगामी अक्टोबर २६ र २७ मा लन्डनमा हुने टोटल टेलिकम कंग्रेस कार्यक्रममाझ गरिनेछ । त्यस्तै, ‘ग्लोबल क्यारियर अवार्ड (जीसीए) २०२१’ अन्तर्गत वैदेशिक रोजगारीमा गएका मानिसहरूका लागि ल्याएको योजनाका लागि पनि एनसेल ‘सामाजिक सञ्जाल अभियानमा उत्कृष्ट’ अवार्डमा पनि सूचीकृत भएको छ ।





