डिजिटल भुक्तानी हालसम्मकै उच्च,एकै महिनामा मोबाइल वालेटबाट १४ अर्ब र क्युआर कोडबाट ५ अर्बको कारोबार


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
डिजिटल भुक्तानी हालसम्मकै उच्च,एकै महिनामा मोबाइल वालेटबाट १४ अर्ब र क्युआर कोडबाट ५ अर्बको कारोबार

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नक्सालस्थित तरकारी तथा फलफुल बजारमा क्युआर कोडबाट भुक्तानी गरेर शुरुवात गरेको क्युआर कोड भुक्तानीले एक वर्षमै ऐतिहासिक कारोबारको रेकर्ड कायम गरेको छ । 

नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्षको साउनसम्मको तथ्यांक अनुसार क्युआर कोड स्क्यान गरेर मात्रै एक महिनामा झन्डै सवा १४ अर्ब रुपियाँको कारोबार भएको छ ।  पछिल्लो समय मोबाइल वालेटको कारोबार एक वर्षमा ३० प्रतिशत तथा क्यूआर कोड स्क्यान गरी भएको कारोबार पनि करिब साढे ६ गुणाले वृद्धि भएको छ । साउन महिनामा मात्रै मोबाइल वालेटमार्फत  एक करोड ३१ लाख ५५ हजार ५ सय १ पटक कारोबार भएको छ । यसबाट १४ अर्ब ५ करोड २० लाख रुपैयाँको कारोबार भएको छ । यो कारोबार रकम र कारोबार संख्या वालेटमार्फत एकै महिनामा भएको हालसम्मकै उच्च हो । कारोबार संख्यामा धेरै वृद्धि नभएपनि कारोबार रकमको आधारमा हेर्दा यो गत वर्षको साउनको भन्दा झन्डै दोब्बर हो । गत वर्षको साउन महिनामा मोबाइल वालेटमार्फत १ करोड १ लाख ७७ हजार ८ सय ८९ वटा कारोबारबाट ७ अर्ब ५७ करोड ९० लाख रुपियाँ कारोबार भएको थियो ।

त्यसैगरी क्यूआर कोड स्क्यान गरी हुने कारोबारले पनि नयाँ रेकर्ड कायम गरेको छ । राष्ट्र बैंकका अनुसार साउन महिनामा मात्रै १२ लाख ९३ हजार ३ सय ४९ वटा कारोबार भएको छ । त्यसमार्फत चालु आवको साउन महिनामा ५ अर्ब ५ करोड ६० लाख रुपैयाँको भुक्तानी भएको हो । यो पनि एक महिनामा क्यूआर कोड स्क्यानमार्फत भएको हालसम्मकै सबैभन्दा धेरै रकमको कारोबार हो । अघिल्लो वर्षम साउनमा जम्म १ लाख ९५ हजार १६ वटा मात्र कारोबार भएको थियो । यसबाट ५८ करोड ९० लाख रुपियाँको मात्र कारोबार भएको थियो । क्युआर कोडको कारोबार संख्यामा साढे ६ गुणा र कारोबार रकममा साढे सात गुणाले वृद्धि देखिएको छ ।

केन्द्रीय बैंकका गभर्नर अधिकारीले पहिलो मौद्रिक नीतिमा विद्युतीय भुक्तानीलाई प्राथमिकतामा राखे । नक्सालको तरकारी तथा फलफुल बजारमा गएर क्युआर कोडबाट भुक्तानी गरेको एक वर्षमै भुक्तानी १४ अर्ब पुग्नुलाई कोरोनाकालको प्रभावस्वरुप नगद भुक्तानीभन्दा विद्युतीय भुक्तानीमा वृद्धि भएको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए । विद्युतीय भुक्तानी तथा अनलाइन कारोबारको संख्या बढ्दै जाँदा त्यसको सकारात्मक प्रभाव अनलाइन सपिङमा पनि देखिएको छ । तथ्याङ्क अनुसार चालु आवको पहिलो महिनामा ई–कमर्श कम्पनीमा ६७ हजार ८९१ वटा कारोबार भएका छन्, जसमा ३८ करोड ७० लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

Read More