काठमाडौं : बुक भ्याल्यू र मार्केट भ्याल्यू दुवै कम्पनीको मूल्यांकन गर्ने विधि हुन् । कम्पनी तथा सेयर भाउको मूल्यांकनका लागि लगानीकर्ताले प्रयोग गर्ने विभिन्न विधिहरुमध्ये बुक भ्याल्यू र मार्केट भ्याल्यू लोकप्रिय मानिन्छन् । दुवैको नाममा ‘भ्याल्यू’ जोडिए पनि विशेषता भने फरकफरक छन् । बुक भ्याल्यूलाई वस्तुपरक मानिन्छ, जसमा कम्पनीको ब्यालेन्स सिट तथा अन्य महत्वपूर्ण वित्तीय विवरणहरु समेटिएका हुन्छन् ।
मार्केट भ्याल्यूले भने सेयर बजारको सेन्टिमेन्टलाई समेटेको हुन्छ । यी दुईबीच असमानता रहे पनि लगानीकर्ताले सेयर ‘ओभरप्राइस्ड’ वा ‘अन्डरप्राइस्ड’ के छ भनेर थाहा पाउन दुवैलाई सँगसँगै राखेर तुलना गर्ने गरेका छन् । अब यी दुई मापनलाई अझ नजिकबाट तुलना गरौं :
बुक भ्याल्यू के हो ?
बुक भ्याल्यूलाई ‘ब्रेक–अप भ्याल्यू’ का रुपमा पनि लिन सकिन्छ । अर्थात कम्पनी टाट पल्टिएर लिक्विडेसनमा गएको अवस्थामा कायम रहने मूल्य । सम्पतिका आधारमा कम्पनीको वास्तविक भ्याल्यू निर्धारण गर्ने गणना विधिका रुपमा बुक भ्याल्यूलाई लिने गरिएको छ । बुक भ्याल्यू कम्पनीको ब्यालेन्स सीटमार्फत गणना गरिन्छ । लगानीको क्षेत्रमा बुक भ्याल्यूको अर्थ अलि विस्तारित रहने गरेको छ । सर्वप्रथम कम्पनीको कुल सम्पति (भौतिक सम्पति, लगानी, कोष, रियल स्टेट लगायत सबै) हिसाब हुन्छ ।
जसबाट कुल दायित्व (कर्जा, कर, ऋण लगायत) घटाइन्छ । सामान्यतय, बौद्धिक सम्पति, कपिराइट, पेटेन्ट लगायत अमूर्त सम्पतिहरु पनि कुल सम्पतिबाट घटाइन्छ । यसरी कुल सम्पतिबाट दायित्व तथा अमूर्त सम्पति घटाएपछि कम्पनीको बुक भ्याल्यू गणना हुन्छ । यस्तै, कम्पनीको कुल सेयर संख्याले बुक भ्याल्यूलाई भाग गर्दा प्रतिसेयर बुक भ्याल्यू प्राप्त हुन्छ ।
बुक भ्याल्यूको उचित प्रयोग पर्याप्त मात्रामा भौतिक सम्पति भएका, उद्योग तथा ठूला मेसिनरी भएका उत्पादनमूलक कम्पनीहरुमा हुने गर्दछ । विशेषगरी अमूर्त सम्पति मात्र धेरै भएका सूचना प्रविधि वा डिजिटल कम्पनीहरुमा बुक भ्याल्यूले सही रुपमा कम गर्न सक्दैन । वास्तवमा, बुक भ्याल्यू कम्पनीको इक्विटीको एक प्रतिविम्ब मात्र हो । लगानी निर्णय गर्ने उपकरणका रुपमा प्रयोग गर्नका लागि भने यसलाई कम्पनीको मार्केट भ्याल्यूसँग तुलना गर्नुपर्दछ ।
मार्केट भ्याल्यू के हो ?
मार्केट भ्याल्यूलाई ‘मार्केट क्यापिटलाइजेसन’ अर्थात बजार पुँजीकरणको रुपमा पनि चिनिन्छ । कम्पनीको सूचीकृत सेयरलाई बजार भाउले गुणन गर्दा उक्त कम्पनीको बजार पुँजीकरण सहजै निस्किन्छ । बजारमा कम्पनीको सबै सेयरको कुल मूल्य कति छ भन्ने बारेमा बजार पुँजीकरणबाट थाहा हुन्छ ।
बजार पुँजीकरण एक महत्वपूर्ण अवधारण हो किन भने यसले लगानीकर्तालाई कम्पनीको आकार थाहा पाउन र सम्बद्ध कम्पनीको बजार मूल्यांकन बुझ्न मद्दत गर्छ । यद्दपि, बजार पुँजीकरण दैनिक परिवर्तन हुन्छ । सूचीकृत कम्पनीको बजार भाउ दैनिक घटबढ भइरहने हुँदा त्यसको बजार पुँजीकरण पनि दैनिक परिवर्तन हुन्छ ।
बुक भ्याल्यू र मार्केट भ्याल्यूबीच फरक
बुक भ्याल्यू र मार्केट भ्याल्यूबीच प्रमुख भिन्नता यस अनुसार छ :
१. आधार : बुक भ्याल्यू अनुसार कम्पनीको मुल्यांकन गर्दा कम्पनीको प्रमुख वित्तीय विवरण वा कम्पनीको वास्तविक सम्पति र दायित्वलाई आधार बनाइन्छ । अर्कोतर्फ, मार्केट भ्याल्यू अनुसार कम्पनीको मूल्यांकन गर्दा कम्पनीको बजार भाउलाई मात्र आधार बनाइन्छ ।
२. जानकारीको समयमै उपलव्धता : समयमै जानकारी उपलव्ध हुने मामलामा बुक भ्याल्यू कमजोर दखिन्छ । कम्पनीको बुक भ्याल्यू कति छ भन्ने थाहा पाउन वित्तीय विवरण नै पर्खनुपर्ने हुन्छ । सजिलै उपलव्ध नहुनु यसको एक मुख्य कमजोरी हो । सामान्यतयः त्रैमासिक रुपमा कम्पनीहरुको वित्तीय विवरण प्रकाशन हुन्छ । तसर्थ, एउटा त्रैमासको बुक भ्याल्यू अर्को त्रैमाससम्म पुग्दा निकै फरक पर्ने सम्भावना रहन्छ । अर्कोतर्फ, मार्केट भ्याल्यूको बारेमा भने दैनिक रुपमै जानकार रहन सकिन्छ ।
३. कतिको बुझ्न सकिने र पहुँचयोग्य छन् : लगानीकर्ताले बुक भ्याल्यू बुझ्नलाई अलि मेहनत गर्नुपर्ने हुन सक्छ । कम्पनीको बुक भ्याल्यू थाहा पाउन उक्त कम्पनीले कस्तो किसिमको लेखा परीक्षण विधि प्रयोग गर्छ भन्ने पनि बुझ्न जरुरी हुन्छ । कर सम्बन्धी नियम तथा लेखा परीक्षण विधि फरकफरक हुँदा बुक भ्याल्यू पनि समायोजनयोग्य हुने गर्दछ । ...








