१ असोज, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तत्काल इन्टरनेट सेवाको मूल्य नबढ्ने बताएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले इन्टरनेट सेवाको शुल्क ३ सय रुपैयाँसम्म बढाउने निर्णय गर्दै प्राधिकरणसँग अनुमति मागेका छन् ।
तर, दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल पूर्वाधारको भाडाको विवादको भार र मार उपभोक्तामाथि नपारिने बताउँछन् । ‘जे जति विवाद छन्, त्यसलाई छलफल गरेर समाधान गर्नुपर्छ,’ उनले भने,’यसैपनि इन्टरनेट सेवा महँगो भएको गुनासो छ, त्यसलाई सस्तो गर्नेतर्फ ध्यान दिने हो । त्यसका लागि सरकारी निकाय र सेवा प्रदायक दुबै जिम्मेवार बन्नुपर्छ ।’
नेपाल टेलिकम र नेपाल विद्युत प्राधिकरणले पोलसहित आफ्ना पूर्वाधारको भाडा बढाएपछि करिब एक दर्जन कम्पनीले शुल्क बढाउने निर्णय गरेका छन् । यो निर्णयअनुसार भएको प्रस्तावलाई दूरसञ्चार प्राधिकरणले स्वीकति गरेमा करिब ९२देखि ९३ प्रतिशत तारसहितको इन्टरनेट सेवा लिइरहेका ग्राहकले बढी मूल्य तिर्नुपर्ने छ ।





