डिजिटल बैंकिङ अर्थात भौतिक रुपमा उपस्थित नभइ आधुनिक सूचना तथा प्रविधिको उपयोग गरेर गरिने बैंकिङ प्रणाली, अर्थात डिजिटल बैंकिङ एक नयाँ युग हो, अब हामीले पहिलेको जस्तो पैसाको लेनदेन गर्नका लागि बैंकको शाखाहरुमा धाइरहन पर्दैन । घरमै बसेर केही मिनेटमै कम्प्यूटर, ल्यापटप र स्मार्टफोन आदिको प्रयोगबाट सबै बैंकिङ सुविधाहरु प्राप्त गर्न सकिन्छ । यसको अतिरिक्त पैसा पनि लाग्दैन । डिजिटल बैंकिङले ग्राहकहरुको दैनिकी एवं जीवनशैलीमा बैंकलाई प्रविधिबाट सम्बन्ध जोड्ने गर्दछ ।
पहिले हामी पैसा निकाल्न घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता थियो भने अहिले एटिएमको माध्यमबाट सजिलै केही छिनमै नगद प्राप्त गर्न सक्छौ । यस डिजिटल युगले सबैकुरा सहज बनाइदिएको छ, हामी जुनसुकै स्थानमा गएर डेबिट कार्डद्धारा नगद बिना नै कुनै पनि वस्तु तथा सेवाको उपभोग गर्न सक्छौ । जसबाट नगद बोक्न हुने झन्झट, हराउने, चोरी हुने जोखिमबाट बच्न सकिन्छ ।





