बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ यही महिनाको अन्तबाट व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप मंगलबारदेखि आन्तरिक परीक्षण सुरु हुने भएको छ ।
नेपाल टेलिकम र नेपाल वाणिज्य बैंकको संयुक्त लगानीमा नेपाल डिजिटल पेमेन्ट कम्पनीबाट सञ्चालित यस नमस्ते पेले ग्राहकहरुका लागि नेपाल मै पहिलो पटक इन्टरनेटविना नै ट्रान्सफर गर्न सकिने सुविधा ल्याउन लागेको छ ।
अब नमस्ते पे प्रयोगकर्ताले इन्टरनेट उपलब्ध नहुँदा पनि अनस्ट्रक्चरड सप्लिमेन्टरी सर्भिस डेटा (युएसएसडी) अर्थात कम्पनीले उपलब्ध गराएका कोड नम्बर प्रयोग गरेर रकम आदनप्रदान गर्न सकिने छ ।
यो भनेको अहिले हामीले नेपाल टेलिकमको कुनै डेटा प्याक दिदा स्टार १४१५ ह्यास हानेर लिन्छौं, त्यसैगरी नमस्ते पेबाट पैसा पठाउँदा पनि यसैगरी कोडको प्रयोग गरेर पठाउन सकिनेछ । नेपालमा सञ्चालनमा आएका मोबाइल वालेटहरुमा इन्टरनेट विना युएसएसडी प्रविधिबाट रकम पठाउन सकिने पहिलो कम्पनी हुने नमस्ते पे हुनेछ ।
यस सुविधाबाट इन्टरनेट सुविधा नहुँदा वा ग्रामिण क्षेत्रमा इन्टरनेटको पहुँचमा नभएका उपभोक्ताको लागि अति उपयोगी हुने विश्वास लिइएको छ ।





