काठमाडौं : आइपीओ जारी गर्ने तयारीमा रहेका ५ वटा जीवन बिमा कम्पनीहरुले पनि गत आर्थिक वर्षमा औसतमा राम्रो प्रदर्शन गरेका छन् । यी कम्पनीहरुको रिजर्भ कोष, जीवन बिमा कोष, खुद बिमा शुल्क लगायत महत्वपूर्ण सूचकमा सुधार भएको छ । पछिल्लो पटक १० वटा नयाँ जीवन बिमा कम्पनीहरुले सञ्चालन अनुमति पाएकामा ५ कम्पनीले आइपीओ जारी गरिसकेका छन् । बाँकी ५ वटाको भने आइपीओ आउन बाँकी रहेको छ ।
यी मध्ये आइएमई लाइफ इन्सुरेन्स र रिलायब लाइफले आइपीओ जारी गर्नका लागि धितोपत्र बोर्डमा अनुमति मागिसकेका छन् । बाँकी ३ कम्पनीले आफ्नो वार्षिक साधारण सभाबाट आइपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको भए पनि बोर्डमा निवेदन दिन बाँकी छ । हेरौं, आइपीओ जारी गर्न बाँकी ५ कम्पनीको वित्तीय अवस्था कस्तो छ :
सिटिजन्स लाइफको चुक्ता पुँजी धेरै
असार मसान्तसम्म सिटिजन्स लाइफ इन्सुरेन्सको चुक्ता पुँजी अन्य सबै कम्पनीको भन्दा धेरै छ । यसको पुँजी १ अर्ब ७५ करोड रुपैयाँ छ । बाँकी सबै इन्सुरेन्सको पुँजी भने १ अर्ब ४० करोड रुपैयाँ छ । सबै कम्पनीको चुक्ता पुँजी गत वर्षकै यथावत रहेको छ ।







