नेपालमा खल्तीभरि सिक्का नोटबाट सुरु भएको आर्थिक कारोबार विज्ञान र प्रविधिको विकाससँगै क्यासलेससम्म आइपुगेको छ । क्रमश: विज्ञान र प्रविधिको पनि प्रतिस्पर्धात्मक यो २१ औं शताब्दीसम्म आइपुग्दा नेपालमा डिजिटल तथा अनलाइन पेमेन्ट सुरु गर्ने डिजिटल वालेटको स्थान क्रमशः मोबाइल बैंकिङले लिन थालेका छन् । कारोबार गर्दा आफ्नो बैंक एकान्तबाट वालेटमा रकम लोड गर्नुभन्दा सिधैं मोवाइल बैंकिङमार्फत् गर्दा सजिलो र सयमको बचत हुने हुँदा यसको प्रयोग बढी भएको हो ।
गत आर्थिक वर्षदेखि नै अगाडि रहेको मोबाइल बैंकिङ सेवा यो आर्थिक वर्षदेखि कारोबार संख्यामा समेत मोबाइल वालेटलाई पछि पारेको छ । नेपाल राष्ट्र बैंकले मुलुकको विद्यमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन अनुसार डिजिटल वालेटको तुलनामा मोबाइल बैंकिङको प्रयोगले ठूलो फड्को मारेको छ ।
२०७७ को साउनसम्म ७ अर्ब ३३ करोड ९० लाख रुपैयाँ रहेको डिजिटल वालेटको कारोबार एक वर्षपछि अर्थात् गएको असारमा आइपुग्दा ६९ प्रतिशतले बढेर १२ अर्ब ७९ करोड पुगेको छ । जब कि यही अवधिमा मोबाइल बैंकिङको कारोबार १८ अर्ब ८३ करोड ९० लाखबाट ३०१ प्रतिशतले बृद्धि हुँदै ७३ अर्ब ७२ करोड ९० लाख रुपैयाँ नाघेको तथ्यांकमा उल्लेख छ ।





