सिमकोट : हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा एक हप्तादेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । छिमेकी जिल्ला मुगुको सोरु गाउँपालिकाको सोरुकोटमा रहेको वल्र्डलिंकको टावरमा खराबी आउँदा अदानचुलीमा हप्ता दिनदेखि इन्टरनेट अवरुद्ध भएको हो ।
टावरमा खराबी आएर हप्ता दिनदेखि इन्टरनेट सेवा अवरुद्ध हुँदा यस क्षेत्रका बैंक तथा वित्तीय संस्था, स्वास्थ्य संस्था, सामुदायिक विद्यालय, गाउँपालिका र प्रत्येक वडा कार्यालयमा काम गर्न थप समस्या बनाएको छ । वडा नं १ ले लाभग्राहीले पाउने सामाजिक सुरक्षा भत्ता बैंक खातामार्फत कारोवार थाले पनि इन्टरनेट बैंकमा नहुँदा दिनहुँ भत्ता बुझ्न आउने लाभान्वित व्यक्तिलाई भुक्तानी दिन नसकेको ग्लोबल आइएमई बैंकका प्रबन्धक रमेशबहादुर रावलले जानकारी दिए ।
बैंकमा रहेको भिस्याड सेवाले समेत काम नगर्दा काम गर्न थप समस्या बनाएको उनले गुनासो गरे । भत्ता पाउने लाभग्राहीको रकम उनीहरूको बैंक खातामा जम्मा भएको भए पनि इन्टरनेट नहुँदा रित्तो हात फिर्ता हुने गरेको र दैनिक नागरिकले सास्ती खेप्नुपरेको प्रबन्धक रावलले बताए ।
गाउँपालिकामा सञ्चारको माध्यमका रूपमा रहेको ग्रामीण रेडियो श्रीनगरलाई समेत इन्टरनेट नहुँदा समाचार सम्प्रेषणमा थप समस्या बनाएको रेडियोका स्टेशन म्यानेजर कालीबहादुर थापाले बताए ।





