काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको एक अर्ब ११ करोड रुपैयाँ तीन महिना भित्र प्रयोगकर्तालाई फिर्ता गर्नुपर्ने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको गत सोमबारको बोर्ड बैठकले नियामक निकायको निर्देशन अवज्ञा गर्दै अटो रिन्यु गरिरहेको भन्दै यस्तो निर्णय लिएको हो ।
यसअघि ग्राहकको स्वीकृतिबिनै गेमलफ्ट, ह्वावे एप ग्यालरी जस्ता भ्यालु एडेड सेवा तथा प्याक स्वतः नवीकरण गरेको र ग्राहकले गुनासो गरेपछि पैसा फिर्ता दिने गरेको समाचार टेकपानाले सार्वजनिक गरेको थियो । उक्त समाचार र ग्राहकबाट आएको गुनासोका आधारमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणले त्यसमाथि अध्ययन अनुसन्धान अगाडि बढाएको थियो ।
अध्ययनका क्रममा एनसेलले तीन दिनमा अटो रिन्यु हुने र साप्ताहिक अटो रिन्युअलका प्याकेज २०७५ असोज १५ गतेदेखि २०७७ जेठ १८ गतेसम्म सञ्चालन गरी कर बाहेक ११ करोड ३७ लाख आर्जन गरेको पाइएको थियो । त्यस्तै ह्वावे एप ग्यालरीको नाममा सोही अवधिमा कर बाहेक ९९ करोड ९२ लाख आम्दानी गरेको अध्ययनको निष्कर्ष थियो । ...





