साउन ३२, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अनलाइनबाटै राजस्व तिर्ने सेवाको शुरूआत गरेको छ ।
महानगरले वडा नंं. २९ बसडिल्वाबाट यो सेवाको शुरु गरेको महानगरका प्रमुख विजयकुमार सरावगीले बताए । महानगरका ३२ वडामध्ये २९ नम्बर वडाबाट पाइलट प्राजेक्टको रुपमा अनलाइन सेवा शुरू गरिएको हो । अब सो वडाका बासिन्दाले राजस्व बुझाउन महानगनरपालिकाको कार्यालयमा धाउनुपर्ने बाध्यता अन्त्य भएको वडाध्यक्ष धर्मेन्द्रप्रसाद महतो थारुले बताए ।
वडा कार्यालयमै राजस्व बुझाउने सुविधा पाएपछि स्थानीयबासिन्दालाई सहज भएको अध्यक्ष थारुको भनाइ छ । ‘अब ५० रुपैयाँ राजस्व बुझाउन कार्यालय धाउनकै लागि ५०० रुपैयाँ खर्च गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । वडा कार्यालयबाट बढीमा १० मिनेटमा राजस्व तिर्न सकिन्छ,’ थारुले भने ।





