हाते कागजमार्फत यात्रुलाई बस टिकट प्रदान गर्दै आएको नेपालको राष्ट्रिय बसपार्क नयाँ बसपार्कले कम्युटर प्रणालीको माध्यमबाट बस टिकट काट्न सुरु गरेको छ। काठमाडौँ महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीच ‘सार्वजनिक–निजी साझेदारी’अन्तर्गत सम्झौता भई विसं २०५६ देखि सञ्चालनमा आएको नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउने उद्देश्यअनुरुप कम्युटर जडान गरी बस टिकट काट्न सुरु गरिएको हो।
नयाँ बसपार्कभित्रका टिकट काउण्टरलाई अन्तर्राष्ट्रियस्तरको टिकट काउण्टर बनाउनका लागि वैशाख १ गतेदेखि बन्द गरिएका टिकट काउण्टर कोरोनाको दोस्रो लहरको निषेधाज्ञापछि कम्युटर प्रणाली र प्रविधिको प्रयोग गरी सञ्चालनमा ल्याइएको हो। टिकट काउण्टरलाई ‘डिजिटल प्रणाली’मा लगेसँगै अब टिकट काउण्टरमा बस्ने कर्मचारीले अनिवार्य पोशाक र परिचयपत्र लगाउनुपर्ने भएको छ। प्रविधिको प्रयोगसँगै यात्रुले अब कुन कम्पनीको कति नम्बरको गाडी कुन समयमा कुन गन्तव्यस्थानमा कति यात्रु लिएर जान्छ भन्ने कुरा स्पष्ट थाहा पाउन सक्छन्।




