काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेशनल बैंकिङ इन्ष्टिच्युट लिमिटेडबीच बैंकिङ तालिम संचालन गर्ने सम्बन्धी बिहीबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेशनल बैंकिङ इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता भएपश्चात गत वर्ष जस्तै चालु आ.व २०७८÷०७९ मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धिको लागि नेशनल बैंकिङ इन्ष्टिच्युटले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्नेछ ।
समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नको लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिईरहेको बताउँदै तालिमले बढिरहेको जोखिमको सामना गर्न सघाउ पुगेको बताए । इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको बताउँदै तालिमले बैंकिङ क्षेत्रमा भएको ज्ञानको कमीलाई पुरा गरेको बताए । उनले निकट भविष्यमा नै एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीसंँग मिलेर बैंकिङ तथा वित्तीय विषयमा एकवर्षे स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुुरु गर्ने समेत जानकारी दिएका छन् ।








