०७३ साल पुसबाट विस्तार सुरु गरिएको 4G सेवामा नेपालले अपेक्षित प्रगति हासिल गर्न नसकेको पाइएको छ । नेपालमा हाल विस्तार भइरहेको 4G को प्रगति २५ प्रतिशत मात्रै भएको पाइएको छ ।
हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८÷०८९ सञ्चालन गरिने कार्यक्रम र कार्यान्वयनको एकीकृत कार्ययोजनाको तथ्याङ्कमा 4G विस्तार शुरु भएको लामो समय भइसक्दा पनि लक्ष्य अनुसार प्रगति हासिल गर्न नसकेको देखाएको हो ।
उक्त कार्ययोजनामा सार्वजनिक गरेको विवरणमा आर्थिक बर्ष २०७७÷०७८ सम्म आइपुग्दा ठूलो लगानीको 4G विस्तारमा २५.४६ प्रतिशत मात्रै जनसंख्याकाे पहुँचमा पुगेको जनाएको छ ।
नेपालमा सबैभन्दा पहिला २०७३ पुसबाट सरकारको स्वामित्व प्राप्त नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले काठमाडौं र पोखरामा चौथो पुस्ताको फोरजी एलटीइ सेवा विस्तार शुरु भएको थियो ।
त्यस्तै निजी क्षेत्रको एनसेलले २०७४ जेठदेखि काठमाडौं उपत्यका सहित वरिपरिका जिल्लाबाट 4G को विस्तार सुरु गरेको थियो ।
मन्त्रालयले सार्वजनिक गरेको उक्त एकीकृत कार्ययोजनाले चालू आर्थिक बर्ष २०७८÷०८९ मा फोरजी विस्तार र पहुँचलाई ५० प्रतिशत पुर्याउने समेत लक्ष्य लिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको एमआईए रिपोर्टमा पनि नेपालका तीन ठूला मोबाइल सेवाप्रदायककाे फोरजी ग्राहकको सङ्ख्या ७६ लाख ६४ हजार रहेको छ ।
फोरजी विस्तारले नेपालका टेलिकम कम्पनीहरुका आम्दानी जुन रुपमा बढ्ने अपेक्षा थियो त्यो लक्ष्य अनुसार उपलब्धि हासिल गर्न नसकेको नियामककै अधिकारीहरु बताउँदै आएका छन् ।
टेलिकम कम्पनीहरुले सबै स्थानीय तहमा 4Gको पहुँच पुगेको भनेपनि मन्त्रालयको तथ्याङ्कमा २५ प्रतिशत मात्रै प्रगति हुन सकेको उल्लेख छ ।
नेपालमा तीन ओटा मोबाइल सेवाप्रदाएकले 4G सेवा उपलब्ध गराइरहेका छन् । नेपाल टेलिकम र एनसेलले देशव्यापी प्रोजेक्टको रुपमा 4G नेटवर्कलाई अघि बढाइरहेका छन । नेपाल टेलिकमले देशभर 4G विस्तार गर्न कुल १९ अर्ब खर्च गरेको छ ।





