काठमाडौं । नेपाल टेलिकमले सीडीएमए छोडेर जीएसएम सेवा प्रयोग गर्न चाहने ग्राहकका लागि आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले छ महिनासम्म निःशुल्क रुपमा कल, एसएमएस र डेटा प्राप्त हुने गरी ‘सीडीएमए-जीएसएम फोरजी माइग्रेसन अफर’ ल्याएको हो ।’
टेलिकमले प्रिपेड सीडीएमए भएका प्रयोगकर्तालाई प्रिपेड जीएसएम फोरजी सिम र पोस्टपेड सीडीएमए भएकालाई पोस्टपेड जीएसएम फोरजी सिम निःशुल्क रुपमा उपलब्ध गराउनेछ । जसअनुसार प्रिपेड ग्राहकले निःशुल्क सिमसँगै छ महिनासम्म मासिक रुपमा ३०० मिनेट कल, ३०० एसएमएस र चार जीबी डेटा पाउनेछन् ।
यसका साथै पुरानो नम्बरमा रहेको ब्यालेन्स र भ्यालिडिटी नयाँ नम्बरमा स्वतः ट्रान्सफर गरिदिने सुविधा समेत कम्पनीले ल्याएको छ । त्यस्तै पोस्टपेड तर्फका ग्राहकलाई समेत कम्पनीले निःशुल्क सिमकार्डसँगै छ महिनासम्म मासिक ४०० मिनेट कल (टेलिकम नेटवर्कभित्र), ५० मिनेट कल (अन्य नेटवर्कका लागि), २०० एसएमएस र छ जीबी डेटा निःशुल्क रुपमा दिनेछ ।





