काठमाडौं । पोल भाडाको विषयलाई लिएर नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायकहरुबीच द्धन्द चर्किएको छ । टेलिकमले आफ्नो पोल प्रयोग गरिरहेका इन्टरनेट सेवाप्रदायकलाई भाडा तिर्न पटकपटक ताकेता गरेको छ भने इन्टरनेट सेवाप्रदायकहरु मनपर्दी रुपमा पोल भाडा बढाएको भन्दै पुरानै शुल्क कायम हुनुपर्ने अडानमा छन् ।
आफूहरुसँग छलफल नै नगरी मनोमानी ढंगले पोल भाडा बढाएको आरोप इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आईस्पान) को छ ।
यता टेलिकमले भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको अग्रसरतामा बनेको उच्चस्तरीय समितिबाट गरिएको शुल्क परिमार्जन व्यवहारिक भएको दाबी गर्दै सेवा लिएबापत शुल्क बुझाउन ‘अटेरी’ गर्ने सेवाप्रदायकलाई पत्र काटिरहेको छ ।
यो विवाद गत वर्ष पोल भाडा बढाएसँगै सुरु भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी तत्कालीन निमित्त सचिव राधिका अर्याल संयोजकत्वको समितिले पोल भाडा बढाउने निर्णय गरेको थियो । समितिमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमका प्रतिनिधि सम्मिलित थिए ।





