काठमाडौँ — गत आर्थिक वर्षमा नेपाल क्लियरिङ हाउस (एनसीएचएल) का विभिन्न प्रणालीमार्फत फर्छ्योट गरिएको नगदरहित भुक्तानी कारोबार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा तीन गुणा बढी छ । एनसीएचएलले ईसीसी, आईपीएस र कनेक्ट आईपीएसलगायत विभिन्न प्रणालीमार्फत भुक्तानी कारोबार गर्दै आएको छ ।
बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक, नेपाल सरकारलगायत अन्य विभिन्न संघसंस्थाले प्रयोग गर्ने एनसीएचएलका सिस्टममार्फत उल्लिखित रकमको कारोबार भएको विज्ञप्तिमा उल्लेख छ । गत आर्थिक वर्षमा एनसीएचएलले कुल ४ करोड ४७ लाखभन्दा बढी भुक्तानी कारोबार फर्छ्योट गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १ सय १७ प्रतिशत बढी हो ।
‘रकमका आधारमा १३ खर्ब रुपैयाँ, २०.९ करोड अमेरिकी डलर, २४.९ करोड युरो र २७.२ करोड जीडीपी बराबरको रकम आफ्ना विभिन्न भुक्तानी प्रणालीमार्फत फर्छ्योट गरेको हो,’ विज्ञप्तिमा उल्लेख छ । यसैगरी चेकको कारोबार २१, एनसीएचएल आईपीएसमा ९४ र कनेक्ट आईपीएसमा ५६६ प्रतिशत कारोबार वृद्धि भएको कम्पनीको दाबी छ । ‘यसरी तथ्यांक हेर्दा चेकबाट हुने कारोबारको वृद्धि स्थिर हुँदै गइरहेको छ भने डिजिटल भुक्तानी प्रणालीहरूको उपायोग उल्लेख्य वृद्धि हुँदै गएको छ,’ विज्ञप्तिमा भनिएको छ ।







