काठमाडौं । नेपालको शेयर बजारको कुल बजार पूँजीकरण रू. ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख पुगेको छ । यो साता कारोबारको चौथो दिन कुल बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक रू. ४२ खर्ब १६ अर्ब १० लाख बराबरको कुल बजार पूँजीकरणको ऐतिहासिक रेकर्डलाई ब्रेक गर्दै रू. ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजार कुल बजार पूँजीकरण कायम भएको थियो ।
गत सातादेखि कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नबिल बैंकले यो साता पनि सो स्थान सुरक्षित गरेको छ । यस अघि नेपाल दुरसञ्चार कम्पनीको सर्वाधिक पूँजीकरण रहेको थियो । धितोपत्र दोस्रो बजारमा १३ करोड ४८ लाख १ हजार ५८४ कित्ता शेयर सूचीकृत रहेको नबिल बैंकको शेयरमूल्य साउन १४ गते बिहीवार प्रतिकित्ता रू. १ हजार ४७७ कायम भएको हो ।




