/पछिल्लो केहि दिनयता बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरु पक्राउ पर्ने क्रम बढेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार सोमबार एकै दिन तीन अभियुक्त पक्राउ परेका छन् । सोमबार पैसा नभएको बैंकको चेक काटेर दिने पेप्सीकोलाकी पवित्रा श्रेष्ठ पक्राउ परेकी छिन् । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले साउन ४ गते पेप्सीकोलाबाट पक्राउ गरेको हो । ४४ वर्षीय श्रेष्ठले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उनलाई उच्च अदालत पाटनले २०७७÷१२÷१ गते दोषी ठहर गरेको थियो । तर उनी त्यस यता फरार रहँदै आएकी थिइन् ।
उनलाई अदालतले १४ लाख जरिवाना र ३ दिनको जेल सजाए सुनाएको थियो । यसअघि व्यूरोले सोमबार नै बैंकिङ कसुर मुद्धा दोषी ठहर भइ फरार दुई अभियुक्तलाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ बस्ने ४८ वर्षीय मिलन डंगोल र काठमाडौं महानगरपालिका–२२ घर भई सोही महानगरपालिका–१३ बस्ने ६३ वर्षीय देव नारायण महर्जन रहेका छन् । उच्च अदालत पाटनबाट बैंकिङ कसूर मुद्दामा ७ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका मिलनलाई टोखाबाट र ५ दिन कैद र १५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका देव नारायणलाई कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जान्दा जान्दै पीडितहरूलाई नेपाल इन्भेष्टमेन्ट बैंक र माछापुच्छ्रे बैंकका विभिन्न रकमका चेकहरु काटेर बैंकिङ कसूरजन्य अपराध गरेको ठहर भई उच्च अदालतले उक्त फैसला गरेको थियो ।
व्यूरोले अदालतबाट दोषी भएका तथा खोजी भएका व्यक्तिहरूलाई प्राथमिकतामा राखेर खोजिरहेको जनाएको छ ।
के हो बैंकिङ कसुर ?
कानुनी व्यवस्थाविपरीत बैंक तथा वित्तीय संस्थाको रकम हिनामिना गर्नुलाई बैंकिङ कसुरका रूपमा लिइन्छ । विद्यमान कानुनी व्यवस्थाअनुसार अनधिकृत रूपमा खाता खोल्ने तथा रकम भुक्तानी दिने, अनधिकृत रूपमा एउटा व्यक्ति वा संस्थाको चेक तथा खातको विवरण अर्को व्यक्ति वा संस्थालाई दिने, धितोको अस्वाभाविक मूल्यांकन गरी ऋण लिने तथा दिने काम बैंकिङ कसुरभित्र पर्छन् ।
के छ कानुनमा ?
बैंकिङ कसुर तथा सजाय सम्बन्धी ऐन, २०६४ को दफा ३ मा अनधिकृत रूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने उल्लेख छ । ऐनमा व्यवस्था छ–
कसैले पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा रकम भुक्तानी माग गर्दा देहायको कार्य गर्न हुँदैन–
(क) नक्कली कागजात पेस गरी खाता खोल्न वा त्यस्तो कागजात पेस गरी खाता खोल्न लागेको छ भन्ने जानी जानी खाता खोलिदिन वा त्यस्तो खातामा रकम जम्मा गर्न, गराउन वा त्यस्तो खाताबाट रकम निकाल्न वा सो कार्यमा सहयोग गर्न वा त्यसरी खाता खोली विद्युतीय कार्ड वा उपकरणको प्रयोग गरी रकम निकाल्न हुँदैन ।








