हेटौँडा, साउन १ गते । बागमती प्रदेशभित्रका यातायात कार्यालयबाट सेवा लिँदै आएका सेवाग्राहीले यातायात क्षेत्रको सेवा र राजस्वको भुक्तानी अब विद्युतीय माध्यमबाट गर्नसक्ने भएका छन् ।
यातायात सूचना प्रणाली लागू भएपछि बागमती प्रदेश सरकारको यातायात क्षेत्रको राजस्व अनलाइन प्रणालीमार्फत दाखिला गर्नसक्ने गरी व्यवस्था गरेसँगै राजस्व तिर्न वा सवारी साधनसम्बन्धी वितरण हेर्न सकिने भएको हो । नयाँ आर्थिक वर्ष २०७८/७९ अर्थात् साउन १ गते शुक्रबारबाट आफ्नो सवारीसम्बन्धी विवरण प्रविष्ट र अद्यावधिक गर्न सकिने भएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले विद्युतीय माध्यमबाट सेवा प्रवाह सुरु भएसँगै सेवाग्राहीले घरमै बसेर आफ्नो सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन र राजस्व भुक्तानी गर्न सुविधा पुग्ने बताउनुभयो । उहाँले यातायात सूचना प्रणाली परीक्षणका क्रममा रहेकाले अहिले सवारीसम्बन्धी विवरण हेर्न, अद्याधिक गर्न, प्रदेश सरकारलाई तिर्नु वा बुझाउनुपर्ने राजस्वका बारेमा जानकारी लिन सकिने जानकारी दिँदै एक सातापछि राजस्व भुक्तानी गर्नसमेत सकिने बताउनुभयो ।
बागमती प्रदेश सरकारले बनाएको विद्युतीय माध्यमबाट यातायात क्षेत्रको सेवा प्रवाह तथा राजस्व भुक्तानी नियमावली २०७८ जारी गरी सवारीचालक अनुमतिपत्रबाहेकका सेवा अनलाइन प्रणालीमा आबद्ध गरी विद्युतीय माध्यमबाट राजस्व भुक्तानी गर्ने व्यवस्था गरेको थियो ।





