नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले इन्टरनेटमा आधारित सिम कार्ड ल्याउने भएको छ । अहिले प्रयोगमा रहेका चिपमा आधारित प्लाष्टिकबाट बनेका सिम कार्डको विस्थापन गर्दै अनलाइनमा आधारित ई–सिम प्रयोगमा ल्याउन लागिएको टेलिकमले जनाएको छ ।
ई–सिम कार्ड मोबाइल डिभाइससहित अन्य डिजिटल डिभाइसमा पनि चल्ने खालको हुने बताईएको छ । ई–सिम मोबाइल डिभाइससहित अन्य विभिन्न खालका डिजिटल डिभाइसमै इम्बेड गर्न सकिने टेलिकमले जनाएको छ ।
एक वर्षमा डेढ लाख ई–सिम ल्याईने
टेलिकमले आगामी आर्थिक वर्ष २०७८/०७९ भित्रै यो योजनाको कार्यान्वयन सुरु गर्ने भएको छ । आगामी आर्थिक वर्षमा ८० लाख सिम खरिद गर्ने योजना बनाएको टेलिकमले १ लाख ५० हजार ई–सिम ल्याउने भएको छ । टेलिकमका अनुसार ७५ लाख सिम कार्ड खरिदका लागि टेण्डर भईसकेको छ ।




