काठमाडौं : युनियन लाइफ इन्सुरेन्सको आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको छ । यसमा हालसम्मकै उच्च २१ लाख ७२ हजार ८६८ जना लगानीकर्ताले आवेदन दिएका छन् । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार सोमबार साँझ ५ बजेसम्ममा ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ताका लागि आवेदन परेको छ ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कुल ५८ लाख ५ हजार कित्तालाई आधार मान्दा ५.९१ गुणा बढी आवेदन हो । आज यो आइपीओमा आवेदन दिने अन्तिम दिन हो । तथापि, यो अन्तिम तथ्यांक भने नभएको बिक्री प्रबन्धकले जनाएको छ । अन्तिम भेरिफाईपछि तथ्यांक केही फरक पर्न सक्नेछ ।
यसअघि केहीदिन अघिमात्र निष्कासन गरेको जिवन विकास लघुवित्तको आइपीओमा हालसम्मकै उच्च २० लाख ८४ हजार ७६२ जनाले आवेदन दिएका थिए । युनियन लाइफले यसलाई पनि पछि पारेको छ । युनियन लाइफले असार २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा कुल ६४ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो ।






