आगामी आर्थिक वर्ष अर्थात् २०७८ साउन १ गतेदेखि ब्रोकरहरुले आफ्नै कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) चलाउने तयारी गरेपनि नेपाल धितोपत्र बोर्डका कारण सो सम्भव नहुने भएको छ। ब्रोकरहरुले आफ्नै टिएमएस चलाउन सक्ने गरि बोर्डले समय मै कानुनी ब्यबस्था नगरिदिँदा साउन १ देखि आफ्नै टिमएमएस चलाउने ब्रोकरको योजना सफल नहुने भएको हो ।
हाल ब्रोकरहरुले नेप्सेकै टिएमएस प्रणाली चलाई रहेका छन् । ब्रोकरले आफ्नै टिएमएस जडान गर्न सक्ने गरि नेपाल स्टक एक्सचेन्ज नेप्सेले विनियमावली संशोधन प्रस्ताव गरेको थियो । नेप्सेले धितोपत्र कारोबार संचालन बिनियमावली संशोधन गरि स्वीकृतिको लागि नेपाल धितोपत्र बोर्डमा पठाएको थियो । लामो समयदेखि बोर्डले उक्त विनियमावली स्वीकृत नगर्दा हाल भईरहेको टिएमएसको विकल्प तत्काल नआउने भएको हो ।




