भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता निशुल्क तिर्न सकिने भएको छ।
यो सुविधा मंगलबारदेखि असार मसान्तसम्म लागु हुनेछ। यो अवधिमा इसेवाका कुनैपनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन।
डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने तथा कोभिड महामारीका बेला सहजै ऋणको किस्ता तिर्न सकियोस् भन्ने उदेश्यले यो सुविधा दिइएको इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बताए।
इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख छ। यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन्।
हाल इसेवाका देशभर करिब एक लाख १० हजार भन्दा बढि एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन्। हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेको छ।





