नेपालमा ८९ प्रतिशत जनसंख्या इन्टरनेट सेवाको पहुँचमा पुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७–७८ को नौ महिना (गत साउनदेखि चैत मसान्तसम्म) को तथ्यांकअनुसार नेपालमा ८८.९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको हो।
प्राधिकरणले जनसंख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कुल जनसंख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्यांकअनुसार गत चैतसम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीकोे पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार प्रयोगकर्ता थपिएका छन्। गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए।




