काठमाडौं : सूचीकृत कम्पनीहरुले बोनस र हकप्रद सेयर जारी गर्दा कम्पनीको सेयर बजार भाउ समायोजन गरिँदै आएको छ । कम्पनीहरुले साधारण सभा तथा हकप्रद सेयर जारी गर्नुअघि बुक क्लोज मिति तय गरेका हुन्छन् । र सोही दिन बोनस र हकप्रद सेयरको बजार भाउ पनि समायोजन गरिएको हुन्छ ।
कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी, सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर अथवा स्टक डिभिडेन्ड भनिन्छ । त्यसैगरी, सेयरधनीहरुको खरिद गर्ने पहिलो हक हुने गरी, उनीहरुलाई समानुपातिक रुपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई, हकप्रद सेयर अथवा राइट सेयर भनिन्छ ।
बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । तर, हकप्रद सेयरका लागि भने सेयरधनीले पैसा तिर्नु पर्छ । अब, प्रश्न आउँछ कस्ता सेयरधनीले चाहिँ कम्पनीले दिने बोनस र हकप्रद सेयर पाउन सक्छन् ? जसको उत्तर हुन्छ, बुक क्लोज मिति भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र कम्पनीले दिने बोनस र हकप्रद सेयर पाउँछन् ।
के हो बुक क्लोज मिति ?
कम्पनीहरुले सेयरधनीहरुको रेकर्ड राख्ने रजिस्टर (सेयरधनी दर्ता किताब) कायम गरेका हुन्छन् । साधारण सभा, लाभांश वितरण र हकप्रद सेयर जारी गर्नु अघि, निश्चित अवधिका लागि सेयर दाखिल खारेज तथा नामसारी नहुने गरी सेयरधनी दर्ता किताब बन्द अथार्त बुक क्लोज गर्दछन् ।
...








